Wednesday, 15 February 2023

 सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी



काठमाडौं : सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार (फागुन ५ गते) बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यद्दपी, समय भने अझै तय भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ । यता, सुपर माईको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ३७.१२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १३ लाख ८६ हजार ८०२ जनाले कुल १ करोड ५४ लाख ६ हजार ६० कित्ताको लागि आवेदन दिएका छन् । 

 

जसमा ४१ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ४५ हजार ३०२ जनाको भने हात खाली हुनेछ । कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४१ हजार ५०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटल लिमिटेडले गरेको छ । यसलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्र एनपी त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषतमा सुरक्षित रहेको संकेत गर्छ

तरलता अवस्था सहज बनाइराख्न फेरि ३० अर्ब बजारमा पठाउँदै केन्द्रीय बैंक

 तरलता अवस्था सहज बनाइराख्न फेरि ३० अर्ब बजारमा पठाउँदै केन्द्रीय बैंक



काठमाडौं : बैंक तथा वित्तीय संस्थामा तरलता घटेसँगै यसलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार रिपोमार्फत बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउने भएको छ । यसअघि बजारमा पठाएको रिपोको परिपक्व अवधि सकिएपछि वित्तीय प्रणालीमा तरलतामा कमी देखिएको छ । सोही कारण राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो ।


केन्द्रीय बैंकले आज फागुन ३ गते रिपोको बोलकबोल गर्दैछ । रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ । रिपो बुधबार नै जारी हुनेछ । राष्ट्र बैंकले १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो ।


यो रिपो फागुन १७ गते परिपक्क हुनेछ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।


यसअघि गत पुस दोस्रो साता ४५ दिनका लागि रिपोमार्फत ५० अर्ब रुपैयाँ बजारमा पठाएको थियो । उक्त रिपोको म्याद गत माघ मसान्तमा सकिएपछि पैसा राष्ट्र बैंकमा फर्किएको थियो । यही कारण बजारमा देखिएको तरलतामा कमीको अवस्था व्यवस्थापनकै लागि राष्ट्र बैंकले थप रकम बजारमा पठाउन लागेको हो । 

 

Tuesday, 14 February 2023

एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन




एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज फागुन २ गते अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ८४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्तामध्येकाे १० प्रतिशत अर्थात ८४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, ४२ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १६ हजार ८०० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ६ लाख ९७ हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कति दिने आवेदन ?


यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?


लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

को हो बिक्री प्रबन्धक ?


आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। 

Monday, 13 February 2023

भूगोल इनर्जिले फागुन ८ गतेदेखि आईपीओ निष्काशन गर्ने 




 गर्नेभूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।


कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ४४ हजार ५३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सोमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ७२ हजार २६ कित्ता तथा आयोजन प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले द्वारी ३ बाहेक) का स्थानिय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ८ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ८ हजार ८११ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।


सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।


आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा फागुन २५ गते हुनेछ भने ढिलोमा चैत ७ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने फागुन २५ गतेभित्र आवेदन दिनु पर्नेछ।


आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।


कम्पनीले प्रबर्धन गरिरहेको ३.७५ मेगावाटको द्वारी खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०.४१ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २५ वर्ष बाँकी रहेको छ।


कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी, क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्न प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।


वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्।



Sunday, 12 February 2023

 आइतबार नेप्सेमा भारी अंकको गिरावट, ३ अर्ब ४ करोडमाथिको कारोबार



काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार भारी अंकले घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ६०.७७ अंकले घटेर २१२१.८६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २५३ कम्पनीको ८१ लाख ३९ हजार ८ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४ करोडमाथिको सेयर कारोबार भएको हो । आइतबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको १४ करोड ३७ लाख ६८ हजार ८ सय ९५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।


यसैगरी आइतबारको सेयर बजारमा खप्तड लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा समलिंग पावर कम्पनी, सयपत्री हाइड्रोपावर, बाराही हाइड्रोपावर, ८.५% नेपाल बैंक डेबेञ्चर २०८७ र नेपाल इन्स्योरेन्सका लगानीकर्ता पनि मालामाल भएका छन् 


यस्तै आइतबारको सेयर बजारमा ङ्गादि ग्रुप पावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । ङ्गादिको सेयरमा यस्तो गिरावट आउँदा हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावर र बरुण हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ 


फागुन ८ गतेदेखि आईपीओ निष्काशन गर्दै एक नयाँ कम्पनी

फागुन ८ गतेदेखि आईपीओ निष्काशन गर्दै एक नयाँ कम्पनी


काठमाडौं - दोल्ती पावर कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।


कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सोमध्ये अति प्रभावित क्षेत्र नौमुले र कालिका गा.वि.स मा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता, आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानिय बासिन्दाहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ।


यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।


सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा फागुन २५ गते हुनेछ भने ढिलोमा चैत ७ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने फागुन २५ गतेभित्र आवेदन दिनु पर्नेछ।


आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।


कम्पनीले प्रबर्धन गरिरहेको ४.५ मेगावाटको पदम खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८ करोड २२ लाख ९० हजार २०० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २४ करोड ५ लाख ८ हजार ९३३ रुपैयाँ रहेको छ।


सो जलविद्युत आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.८५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २६.९५ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति ३० वर्ष बाँकी रहेको छ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् त्यसैगरी, क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ।


आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्न प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्।

Saturday, 11 February 2023

पेपर लेस सिस्टममा नगएसम्म राष्ट्रिय प्राथमिकतामा पर्ने उद्योग आइपिओका लागि आउँदैनन्: रमेश हमाल

 पेपर लेस सिस्टममा नगएसम्म राष्ट्रिय प्राथमिकतामा पर्ने उद्योग आइपिओका लागि आउँदैनन्: रमेश हमाल


याे साताभर धिताेपत्र बाेर्डका अध्यक्ष रमेश हमाल चर्चामा रहे । उनले अध्यक्षका हैसियतमा अनाधिकृत काम गरे भन्ने मिडियामा सार्वजनिक भएपछि उनी बचाउ र खण्डनमै ब्यस्त रहे ।

उनले पाँच पन्ने विज्ञप्तिमा खण्डन मात्र लेखेनेन्, आफ्नाे ११ महिने कार्यकालमा गरेका सुधारका कार्यक्रमकाे फेहरिस्त नै निकाले । सरकारले सार्वजनिक खर्च कटाैती गरेकाे निर्णय लगत्तै उनले पनि बाेर्डकाे एक कार्यक्रम हाेटलमा नगरेर एक स्कूलमा गरे । प्राथमिक शेयर अर्थात आइपिओ जारी गर्दा हुने प्रकृयाकाे बारेमा जानकारी दिन आयाेजना गरिएकाे कार्यक्रममा समेत उनले आफ्नाे बचाउ गरे । साेही कार्यक्रम उपस्थित संचारकर्मीले साेधेकाे केही प्रतिनिधि प्रश्न र तिनकाे जवाफलाई यहाँ प्रस्तुत गरिएकाे छ । उनीमाथि लागेका आराेप र खण्डनहरू विज्ञप्ति मार्फत आइसकेकाले ती प्रश्नहरू यहाँ समावेश गरिएकाे छैन ।


प्रारम्भिक निष्कासनमा थुप्रै कागजी प्रक्रिया छन्। प्राथमिक निष्कासनमा मात्रै ४२ वटा कागज बुझाउनु पर्छ। पेपर लेस नभएको कारणले पनि अनुमति प्रक्रिया ढिलो भएको जस्तो देखिन्छ। पेपरलेस अवधारणा बढ्दै गर्दा यसलाई पनि बोर्डले पेपरलेस गर्न मिल्दैन ?


पेपरलेसको कुरा जसरी उठाउनु भएको छ। त्यो असाध्यै राम्रो कुरा हो। बोर्ड पनि पेपरलेस तर्फ नै जान चाहन्छ। किनभने एउटा युगमा पेपरलेसमा प्रवेश गर्नै पर्छ। तर यति हुँदा हुँदै पनि तपाइहरूलाई थाहा छदै छ। बोर्डमा जनशक्तिको कमी छ। अर्कोतर्फ प्रविधि अलमस्ट नभएको अवस्था छ। पेपरलेस भन्ने बित्तिकै प्रविधिसँग जोडिएको विषय हो। फेरि यसमा कामै नगरिएको भने होइन। म आएपछि यस विषयमा एउटा कमिटी पनि बनेको छ। केही कामहरू पनि भएका छन्। डेटा सर्भर किन्नलाई हामी प्रक्रियामा गईरहेका छौ। अझै मेरो चाहना के हो भने सबै सिस्टमलाई नै डिजिटलाइज गर्ने छ। सकेसम्म सेवाग्राही अफिसमा आउँदै नआउन्। सिस्टम वा प्रणालीले काम गरोस् भन्ने नै चाहना हो। यही भएर नीतिमै राखिएको छ। तर काम गर्न ढिला सुस्ती भई राखेको सत्य हो।




 अर्को कुरा इपिओकोलागि इको सिस्टम बनाउनै पर्ने हुन्छ। हामी तपाईहरूसँग मिलेर सहकार्य गर्छौ। आइपिओको सिस्टम चाहिँ अन्य देशमा भएको जस्तो अटोमेटिक एउटा फिक्स विण्डो राखेर हुनुपर्छ। प्रस्पेक्टस जनतालाई देखाउने, जनतालाई त्यसको मूल्याङ्कन गर्ने समय दिने र एउटा निश्चित समयमा अटोमेटिक एप्रुभ हुने व्यवस्था प्रचलित छ। तर त्यो व्यवस्था कहाँ अवलम्बन गरिएको छ भन्दा जुन मुलुकमा फ्री प्राइसिङ मेकानिजम छ। एक सयमा नै निष्कासन गर्नु पर्छ भन्ने व्यवस्था भएको देशमा त्यो लागु हुन सक्दैन। त्यसले गर्दा अहिले चाहेर पनि हामी त्यो सिस्टम लागु गर्न सक्दैनौ। पहिले फ्री प्राइसिङ मेकानिजम ल्याउनु पर्ने हुन्छ।   


विडम्बनाको कुरा अन्य देशको तुलनामा सरकारी क्षेत्रमा हामीले चाहेर पनि विकासका कामहरू छिटो गर्न सक्दैनौ। किनकि हाम्रा चेक एण्ड ब्यालेन्स सिस्टमहरू मजबुत छन्। थोरै दोहोरिने खालका पनि छन्। त्यही भएर यो हुन चाहिँ हुन्छ। तर केही समय लाग्छ। हामीले कमसेकम आइपिओ प्रणालीलाई फुल्ली डिजिटलाइज गर्छौ। सबै एकैचोटी गर्न सकिँदैन। स्टेप बाइ स्टेप जाऊ भनेर काम अघि बढाएका छौं।


 बुक बिल्डिङमा अझै इलेकट्रोनिक अक्सन सिस्टम बनाइएकाे छैन, किन हाेला ?


मर्चेन्ट बैंकहरुसँग थुप्रै वर्षको अनुभव छ। मैले बुक बिल्डिङ प्रक्रियालाई फास्ट ट्र्याकमा लैजान मर्चेन्ट बैंक एसोसिएसनका साथीहरूलाई दुई/तीन पटक अफिसमै निम्ता गरेर भनि सकेको छु। खासमा बुक बिल्डिङ प्रक्रियाको लागि चाहिने इलेक्ट्रोनिक अक्सन सिस्टम मर्चेन्ट बैंककै साथीहरूले नेप्सेलाई किन्दिने,एसोसिएसनले वा तपाईहरूको समूहले त्यो सिस्टम भाडामा दियो भने त्यसमा ऐन आकर्षित हुँदैन। बरु त्यसको प्रयोगको ग्यारेन्टी बोर्डले लिन्छ। यति वर्षमा तपाईहरूले हालेको पैसा फिर्ता हुन्छ भन्ने ग्यारेन्टी सेबोनले गरिदिन्छ भनेर मैले निवेदन गरेको हो।


किन यस्तो भनिएको हो भन्दा त्यो सिस्टम ल्याउने जिम्मेवारी नेप्सेको हो। सेबोनको होइन। किनकि नियमनकारी निकायले त्यो काम गर्दैन। तर हामी अभिभावक भएकोले गर्दा हामी मुनिका एजेन्सीहरूलाई काम गराउने जिम्मेवारी त हाम्रो नै हो। अल्टिमेट आउट पुट दिने त हामीले नै हो। त्यो अवरोधलाई चिर्न यो बाटोमा जान सकिन्छ भनेर उपाय निकालिएको हो।


सेबोनले पैसा फिर्ता हुन्छ भन्ने ग्यारेन्टी गरिदिएपछि मर्चेन्ट बैंकरलाई पनि आर्थिक भार नपर्ने र नेप्सेलाई पनि प्रशासनिक प्रक्रियामा अल्झिनु नपर्ने अवस्था हुन्थ्यो। तर त्यो बाटो हिँडिएन। अझै पनि त्यो बाटो खुल्लै छ। त्यसमा मर्चेन्ट बैंकहरुले बिचार गर्न सक्छन्। यो किन भनिएको भने कुनै पनि समस्यामा अल्झिएर बस्नु हुँदैन। त्यसलाई निकास दिएर अघि बढ्नु पर्छ भनेर उदाहरण मात्रै दिन खोजेको हो।    


 तपाई जनशक्ति छैन भन्नु हुन्छ। किन जनशक्ति बढाउन सक्नु भएकाे छैन ?


सेवोनले नियमित शुल्क लिई राखेको छ। सेबोनको आम्दानी बढेकै छ। जनशक्ति जति पनि लिन सक्छौ भन्ने लाग्नु स्वाभाविक हो। तर हामी सार्वजनिक संस्था भएको हिसाबले ऐन अनुसार लोक सेवा आयोगको सिस्टममा बाँधिएका छौ। बाँधिनु पर्छ पनि। यसमा पारदर्शी र सबैलाई बराबरीको अवसर मुलुकभरीका जनतालाई लागु हुनु पर्छ र लोकसेवाले त्यो गर्छ पनि। तर त्यो प्रक्रिया पुर्‍याउन धेरै लामो समय लाग्छ। तपाईहरूलाई भनिहालौँ एउटा लोकसेवाको प्रक्रिया पुरा गर्न पुरै आर्थिक वर्ष लाग्छ। एक लट कर्मचारी लिन एक वर्ष लाग्छ। म आएपछि १५ जना नयाँ कर्मचारी लोकसेवा मार्फत लिएको अवस्था छ। फेरि २० जनाको प्रक्रिया अगाडि बढाइएको छ।


आन्दोलन गरिरहने र अनसन बसिरहने लगानीकर्ताहरूको मुखमा १९ बुँदेले बुझो लगाइदिनु भयो। त्यो बुझो लागेको लाग्यै भयो कि त्यस भित्र अलिअलि हावा पनि हालिदिनु हुन्छ ?


१९ बुँदे मागको क्रममा अनसन बस्ने साथीहरूलाई मैले त्यति बेला एउटा कुरा भनेको थिए। एक डेढ महिना अघि बस्दा पनि त्यो कुरा दोहोर्‍याएको थिए। मैले त्यति बेलै भनेको थिए १९ बुँदे मागमा केही यस्ता माग छन्। जुन हाम्रो कार्य क्षेत्रमै पर्दैनन्। त्यसमा हामी नजाऊ। जुन हाम्रो कार्य क्षेत्रमा पर्छ त्यो समय सीमा तोकेर लागु गर्छौ भनेको थिएँ। त्यो बुँदामा भएका कतिपय कामहरू हामीले गरिपनि सकेका छौ। मैले उहाँहरुलाई थप भनेको थिएँ कि तपाईहरूले सोच्नु भएको भन्दा माथिको रिफर्म पनि हामीले गर्छौ। हाम्रो परिधिभित्र रहेका, उहाँहरुले भनेका र नभनेका काम हामीले धेरै गरिसकेका छौ।


तपाईले डराउनु पर्ने कुरा गर्नु भयो। खास कस्तो कुरामा डराउनु पर्ने रहेछ ?


जहाँसम्म डराउनु पर्ने कुरा छ। यो त तपाईहरूले देखि नै सक्नु भएको छ। हिजो पनि एक जना पूर्व गृह मन्त्रीले आफ्नो आक्रोश पोख्नु भयो। मैले त्यता कुरा मोड्न खोजेको त होइन। तर हाम्रो रिफर्मको स्पिड र जुन कुरा लिडरसिपमा देखाएका छौ। त्यसले गर्दा मेरो चरित्रलाई हत्या गर्न खोजिएको भन्ने कुरा मैले विज्ञप्ति मार्फत जाहेर नै गरिसकेको छु। त्यस कारण कानुनी राज्यमा कुनै पनि विषयको छिनोफानो कानुनले नै गरिहाल्छ। अरूले गर्ने होइन। कानुन मार्फत जानु पर्ने कुरा व्यक्तिगत रुपमा बिना आधार आक्षेप लगाइएको अवस्था आएको कारणले मैले केही कुरामा डराउनु पर्ने भन्ने वाक्य प्रयोग गरेको हो। अरू कुनै आशयले होइन।


राष्ट्रिय प्राथमिकता भएको उद्योगको आइपिओलाई के गर्ने ?


राम्रो विषय उठाउनु भएको छ। २०७९/८० को बजेटमा पनि यो विषय आएकै हो। एक अर्ब भन्दा माथिको कम्पनीलाई पाँच अर्ब भन्दा बढी टर्न ओभर भएको कम्पनीलाई आइपिओमा जानु पर्ने बाध्यात्मक अवस्था छ। मैले त्यतिखेर पनि माननीय मन्त्री ज्युलाई भनेको थिए, हामीले सधैँ पोलिसिमा राख्दै आइरहेका थियौ। तर जबसम्म बजारको विश्वसनीयता हुँदैन। तबसम्म उचित भ्यालुएसनको कदर हुँदैन। जबसम्म भ्यालुएसनको कदर हुँदैन, तबसम्म ती कम्पनी सूचिकृत हुन आउँदैनन्। त्यसका लागि नेप्सेमा फेयर ट्रान्जेक्सन सिस्टम अहिले भन्दा विश्वसनीय बनाउनु पर्छ। भ्यालुएसनको मेकानिजम राम्रो गर्नु पर्‍यो। सेबोनलाई फुल डिजिटाइजेसन गर्नु पर्‍यो। पेपर लेस सिस्टममा जानु पर्‍यो। अनि मात्रै उनीहरू आउँछन्।


फेरि यति भन्दा भन्दै पनि मैले व्यक्तिगत रुपमा कुलमानजीसँग कुरा गरेको थिए। उहाँलाई बिद्युत् प्राधिकरणलाई पनि सूचिकृत गरौँ। केयुकेएललाई पनि गर्नु पर्छ। सहकार्य गरौँ भन्दै मैले दुई वटा मिटिङ पनि गरिसकेको छु। तर त्यो भन्ने बित्तिकै आउने विषय होइन। उहाँहरुलाई पनि मिलाउन समय लाग्छ। त्यसकारण यो हामीले पहल नगरेको विषय होइन। यो राष्ट्रिय अर्थतन्त्रको निर्माणमा असाध्यै ठुलो भूमिका खेल्ने विषय हो। 


तपाईहरूले प्राइभेट इक्युटी र भेन्चर क्यापिटलको लागि नियमावली ल्याउनु भयो। तर नेपालमा पहिले देखिनै भएका डोल्मा र बिओटु जस्ता संस्था अझै यो नियमावलीको दायरामा आउन सकेनन् नि ?


डोल्माको केसमा चाहिँ उनीहरू यस अघि नै नेपाल राष्ट्र बैंक र उद्योग विभाग अन्तर्गतको नियम अनुसार दर्ता भएर फण्ड चलाइरहेको अवस्था हो। त्यसमा अन्तराष्ट्रिय संस्था आइएफसिको समेत लगानी छ। तिनीहरू असाध्यै क्वालिफाइड संस्थाहरू हुन्। हामीलाई राइट च्यानलबाट राइट फण्डिङ चाहिएको हो। हाम्रा व्यवसायीले पैसा पाउन्। त्यो पनि धितो बिना पाउन्। त्यो मुख्य कुरा हो। धितो लिएर मात्रै दिएको ऋणले मात्रै देश अगाडि बढ्न सक्दैन। तर उहाँहरुले अरू देशमा पहिले नै लाइसेन्स लिई सकेको हुनाले नेपालमा लाइसेन्स लिएर काम गर्न चाहिरहनु भएको छैन। दोहोरो लाइसेन्स लिँदा अर्को समस्या पर्छ। त्यसले गर्दा मेरो व्यक्तिगत बिचारमा उहाँहरु आउन चाहनुहुन्छ भने पनि ठिक छ। तर आउन चाहनु हुन्न भने पनि उहाँहरुलाई लगानी गर्न वञ्चित गरिनु हुँदैन। किनकि हाम्रो मुलुकलाई लगानी चाहिएको छ।


त्यसले गर्दा त्यस्ता लिगल फण्डहरुलाई ल्याउन सजिलो भन्दा सजिलो वातावरण बनाउनु पर्छ। फेरि मैले विदेशमा बस्दा यो सेक्टरमा काम समेत गरेको छु। त्यस अनुभवको आधारमा भन्नु पर्दा यो कम मात्रै नियमन गरिने क्षेत्रमा पर्छ। त्यसमा धेरै रेगुलेसनको जरुरी छैन। किनकि यसमा लगानी गर्ने मानिसहरू असाध्यै शिक्षित वर्गका हुन्छन्। हामीले ल्याएको नियममा एक लगानीकर्ताले कम्तीमा ५० लाख रुपैयाँ राख्नु पर्छ भनिएको छ। ५० लाख लगानी गर्ने क्षमता भएको मानिस शिक्षित नै हुन्छ।


यस अर्थमा हामीले अर्थ मन्त्रालयको को-अडिनेसनमा डोल्मासँग छलफल पनि गरेका थियौ। मैले उहाँहरुलाई तपाईहरूले कम्तीमा पनि पाँच सात बिलियनको लगानी सुनिश्चित गर्नु हुन्छ भने अरू पनि नीतिगत सुधार गर्न सक्छौ भनेको थिए। तर हामी चाहन्छौ कि सात वटै प्रदेशमा ल्याइएको फण्ड लगानी होस्। त्यस पछि उहाँहरुले हामीलाई के के सुधार गर्नु पर्छ भनेर सुझाव पठाउनु भएको छ। त्यसलाई हामी गम्भीरतापूर्वक नै लिएका छौ र लिन्छौ पनि।


आइपिओमा आरक्षण गर्ने प्रथा राम्रो हो र ?


आरक्षण आफैमा राम्रो प्रथा चाहिँ होइन। तर हाम्रो देशको सन्दर्भमा चाहिँ जलविद्युतमा १० प्रतिशत आरक्षण दिने राष्ट्रिय नीति नै बन्यो। स्थानीयलाई दिएपछि त्यो प्रोजेक्टलाई सजिलो हुन्छ भन्ने कसिमले दिइयो, त्यसले सजिलो पनि पार्‍यो होला हाम्रो ऊर्जाको अभियानमा। त्यसकारण वैदेशिक रोजगारमा गएका श्रमिकलाई दिएको आरक्षणलाई चाहिँ त्यो आरक्षणको रुपमा नबुझिदिन आग्रह गर्छु। जस्तै पहिले हामीले सामूहिक लगानी कोषहरूलाई पनि आरक्षण दियौ। त्यतिखेर समय नै त्यस्तै थियो। त्यति बेला साना साना लगानीकर्ताको रकम सङ्कलन गरी लगानी प्रोत्साहन गर्नु पर्ने अवस्था थियो। त्यसकारण त्यति बेला उनीहरूलाई आरक्षण दिइयो। भर्खर जन्मिएको बच्चा र अलिकति ठुलो भएको बच्चालाई हुर्काउने तरिका फरक हुन्छ। भर्खरै जन्मिएकोलाई अलि बढी नै टेक केयर गर्छौ। त्यति बेला त्यस्तै टेक केयर सामूहिक लगानी कोषलाई गरिएको थियो।


तर वैदेशिक रोजगारमा रहेकाहरूलाई दिएको आरक्षणको भने निक्कै महत्त्व छ। किनकी बढी भन्दा बढी पैसा विदेशबाट अनौपचारिक च्यानलबाट आयो। हुन्डीबाट आयो। जति बेदशमा बस्ने नेपाली छन्। त्यस अनुरूप पैसा आएन भन्ने गुनासो थियो। त्यसले अर्थतन्त्रमै चुनौती खडा गरेको थियो। त्यसलाई केही न केही सम्बोधन गर्नु पर्ने थियो। त्यो कारणले आरक्षण दिइएको हो। अरू कुनै कारणले आरक्षण दिनु पर्छ भनेर ल्याइएको होइन।


बिमा कम्पनीहरूले तीन वर्ष भित्र आइपिओ जारी गर्नु पर्ने नियम छ। तर केही कम्पनीले आइपिओ निष्कासन नै नगरी प्रिमियममा आइपिओ निष्कासन गर्न खोजिरहेका छन्। के आइपिओ निष्कासन नगरी प्रिमियममा जान दिन ठिक हो ?


राम्रो कुरा उठाउनु भयो। यो विषयलाई हामीले नोट पनि गरेका छौ। यो विषयको बारेमा हामीले बिमा प्राधिकरणलाई सूचित पनि गरिसकेका छौ। त्यसलाई हामी हेर्छौ। तर यसो भन्दै गर्दा कुनै पनि कम्पनीलाई प्रिमियममा शेयर निष्कासन गर्नबाट वञ्चित चाहिँ गर्नु हुँदैन। तर त्यसको भ्यालुएसन भने जाँच गर्नु पर्छ। तर यस्ता विषयको सबैभन्दा ठुलो दायित्व चाहीँ त्यही कम्पनीको नियामक निकायको हो। बैकिङ क्षेत्र छ भने राष्ट्र बैंकले हेर्छ। राष्ट्र बैंकको सहमति बिना कुनै पनि काम अघि बढाउँदैनौ। त्यस्तै बिमा प्राधिकरणको क्षेत्राधिकार भित्र पर्छ भने त्यो बिमा प्राधिकरणले हेर्छ।    


Friday, 10 February 2023

शिवम् सिमेन्ट्सको नाफा प्रभावित हुँदा इपीएस कति ?

 


शिवम् सिमेन्ट्सको नाफा प्रभावित हुँदा इपीएस कति ?


काठमाडौं : शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्ष २०७९–८० को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले ३२ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा २३% ले थोरै हो । गत वर्षको यही अवधिमा यसले ४२ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्म सञ्चालन आम्दानी पनि २७.३७% ले घटेर ३ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त आम्दानी ४ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । यसले गर्दा कम्पनीको नाफामा असर परेको छ । 

 

यसको अन्य आम्दानी भने भारी मात्राले बढेको छ । गत वर्ष १ करोड ३५ रुपैयाँ रहेको अन्य आम्दानी यो वर्ष बढेर ३२ करोड ३६ लाख रुपैयाँ पुगेको छ । यसको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । यसको रिजर्भ कोषमा ३ अर्ब ७४ रुपैयाँ रहेको छ । सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ जम्मा भएको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा (बार्षिक) रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ८५ पैसा छ ।

एशियन हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

 एशियन हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने



एशियन हाइड्रोपावर लिमिटेडले आज (माघ २७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अहिले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।




कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८०० कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो।


कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन २ गते हुनेछ भने ढिलोमा फागुन १२ गते हुनेछ।


आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।


कम्पनीले सञ्चालन गरिरहेको ६.२ मेगावाटको तल्लो जोगमाई खोला जलविद्युत आयोजनाले २०७८ कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ। सो आयोजनाको कुल लागत १ अर्ब ३९ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको छ। आयोजनाको प्रति मेगावाट लागत २९ करोड १५ लाख ३७ हजार ९७ रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.०९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ११.८३ वर्ष रहेको छ।


कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्य प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।



Thursday, 9 February 2023

शुभम पावरको आइपीओ बाँडफाँड मिति तय

 शुभम पावरको आइपीओ बाँडफाँड मिति तय



शुभम पावरको आइपीओ बाँडफाँड मिति तय

काठमाडौं । शुभम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका निष्काशन गरेको आइपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले माघ २७ गते शुक्रबार आइपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । आइपीओ बाँडफाँडको समय भने तय हुन बाँकी रहेको विक्री प्रबन्धकले जनाएको छ ।


शुभम पावरले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर, कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याई बाँकि रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गरेको थियो ।


कम्पनीले यस अघि स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई आइपीओ निष्काशन गरी सकेपछि सर्वसाधारणलाई गरेको हो ।



 ४७ प्रतिशतले बढ्यो नेपाल इन्स्योरेन्सको नाफा, अन्य अवस्ता कस्तो।



४७ प्रतिशतले बढ्यो नेपाल इन्स्योरेन्सको नाफा, अन्य अवस्ता कस्तो ?


नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा कम्पनीको मुनाफामा बृद्धि आएको छ।


उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ३७.६५ प्रतिशतले घटेर १५ करोड ३२ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 


समिक्षा अवधीसम्ममा कम्पनीको बीमा शुल्क भने ९.९९ प्रतिशतले घटेर ३९ करोड १९ लाख ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ४३ करोड ५५ लाख ४ हजार रुपैयाँ रहेको थियो ।


हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ र जगेडा कोषमा ४७ करोड ७७ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषको आकार ८२ करोड ९८ लाख रुपैयाँ पुगेको छ । 


त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २३ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ८२ पैसा रहेको छ 

 सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी काठमाडौं : सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार (फागुन ५ गते) बाँडफाँट गर्ने प्...